काठमाडौँ, १६ असोज। गृहमन्त्री रामबहादुर थापा (बादल)ले दसैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन्। बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा गृहमन्त्री थापाले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्।
चाडपर्वमा चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोहीअनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिएका हुन्। गृहमन्त्री थापाले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नसमेत निर्देशन दिएका छन्।