तनहुँ, १८ असोज। लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षणका लागि जिल्लाको व्यास नगरपालिकाले पहल थालेको छ। जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी भेगमा लोप भइसकेको रोटे पिङको संरक्षणका लागि नगरपालिकाले पहल थालेको हो।
सदरमुकाम दमौलीमा आजभन्दा ३१ वर्ष पहिले रोटेपिङ बनाइएको थियो। त्यसयता दमौलीवासीले कहिल्यै पनि रोटेपिङ देख्न पाएनन्। तर, व्यास नगरपालिकाको पहलमा गत वर्षदेखि प्रत्येक दशैँमा खुला मैदानमा रोटेपिङ हाल्न सुरु गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।
‘अहिलेका पुस्तालाई रोटेपिङ कस्तो हुन्छ भन्नेबारे पनि थाहा नहुन सक्छ,’ उनले भने, ‘लोप हुँदै गइरहेकाले यसको सम्वर्द्धन र संरक्षण गर्ने प्रयास गरेका हौँ।’ नगरप्रमुख न्यौपानेका अनुसार प्रत्येक वर्षको दशैंमा रोटेपिङ हाल्ने परम्परालाई निरन्तरता दिइनेछ।
नगरपालिकाकै आर्थिक लागतमा खुला मैदानमा पिङ बनाइएको छ। गतवर्ष हालिएकै सामग्री प्रयोग गरेर पिङ बनाइएको नगरपालिका–२ का वडा सदस्य टुकबहादुर हमालले बताए। उनका अनुसार रोटेपिङ बनाउनका लागि म्याग्दे गाउँपालिकाका पाँच जना खटिएका थिए। रोटेपिङ सँगसँगै दुई वटा लिङ्गेपिङ पनि बनाइएको छ।
नगरपालिकाको सक्रियतामा दमौलीमा गत वर्षदेखि रोटेपिङ हाल्न सुरू गर्नु सकारात्मक रहेको स्थानीयले बताएका छन्। – रासस