काठमाडौं, २५ असोज। चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई मध्यनजर गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। शनिबार बिहानैदेखि नेपाली सेना गस्तीमा खटिएको छ। फरक–फरक टोली बनाई सडकको विभिन्न भागमा सेनाका जवानले गस्ती गरिरहेका छन्।
४ तहको सुरक्षा घेरा
चिनियाँ राष्ट्रपतिको भ्रमणको सुरक्षाका लागि प्रहरीको थप शक्ति उपत्यका बाहिरबाट समेत ल्याएर चार तहको सुरक्षा घेरा बनाइएको छ। पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ।
चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि चिनियाँ सेना समेत उनीसँगै आउने बताइएको छ। उनीहरुसँग नेपाली सेनाले संयोजन गर्नेछ। नेपाल प्रहरीले सवारीसाधनको जाँचमा कडाइ गर्नुका साथै तीव्रतासमेत दिएको छ। सडकमा ट्राफिक प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाइएको छ। केही रुटका सार्वजनिक सवारीसाधनलाई बिहानदेखि नै रुट परिवर्तन गरी सञ्चालन गरिएको छ।
आइतबार बिमानस्थल बन्द हुने
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरेको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम भनिन्छ।
विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार शनिबार दिउँसो २ः५५ देखि साँझ ५ः२५ सम्मका लागि नोटाम जारी गरिएको छ। सी फर्किने क्रममा पनि आइतबार बिहान ११ः२० देखि दिउँसो १ः५० सम्म विमानस्थल बन्द रहने प्रवक्ता तिवारीले बताए। यस क्रममा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन्।
