काठमाडौं, २७ असोज। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२ दशमलव ०५ विन्दुले घटेर एक हजार १३६ दशमलव ९६ विन्दुमा पुगेको छ।
यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २४९ दशमलव १७ मा झरेको छ। दसैंको बिदालगत्तै सोमबार दोस्रो कारोबार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर रु २१ करेड ८६ लाख ३५ हजार ६९१ मूल्यमा खरीद बिक्री भए।
कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमबार सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको शेयर ओरालो लागेको छ। सामूहिक लगानी कोष शून्य दशमलव ०५ विन्दुले बढ्दा बैंकिङ १३ दशमलव ४५, व्यापार २ दशमलव २८, होटल ५३ दशमलव ६६, विकास बैंक ११ दशमलव ४३, जलविद्युत् ९ दशमलव ०७, वित्त ६ दशमलव ३, निर्जीवन बीमा ४९ दशमलव ५३, उत्पादन १ दशमलव ५२, अन्य २ दशमलव २१, लघुवित्त १३ दशमलव ८५ र जीवन बीमा ३७ दशमलव १ विन्दुले घटेको छ।
स्टकका अनुसार कारोबारका आधारमा सोमबार प्रभु बैंकको रु दुई करोड ६५ लाख ७३ हजार १२७ मूल्यमा शेयर खरीद बिक्री भई शीर्षस्थानमा रहेको छ। यस्तै, सिद्धार्थ बैंक रु दुई करोड ६४ लाख पाँच हजार ८९४, नबिल बैंक रु एक करोड २६ लाख २८ हजार ६७९ मा कारोवार भई शीर्ष स्थानमा रहे।
स्टकका अनुसार राधी विद्युत् कम्पनीका शेयरधनीले ५ दशमलव ८४, एचआइडिसिएलका लगानीकर्ताले ४ दशमलव ५१ प्रतिशतले कमाउँदा सिनर्जी पावर ६ दशमलव ४९ र अरुण काबेलीका शेयरधनीले ५ दशमलव ६३ प्रतिशतले गुमाए। – रासस