काठमाडौं, २७ असोज। दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि राजधानीमा सुरु हुने भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुने कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए। असोज ३० गतेसम्म प्रस्तुत कार्यपत्रमाथि छलफल हुनेछ। सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवंम पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवर्द्धनसमेत गरिने छ।
असोज ३० गतेको कार्यक्रम चन्द्रागिरिमा गरिने प्रतिष्ठानले जनाएको छ। उक्त दिन नेपाल पर्यटन बोर्डको तर्फबाट ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयक प्रस्तुतिसमेत गरिनेछ। औपचारिक कार्यक्रम यसै दिन सकिने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिए।
अगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिक स्थलको भ्रमण गराइनेछ। सम्मेलनको मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए। बेलुकी प्रतिष्ठानको प्रेक्षालयमा नेपाल चिनाउने विविध प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। कार्यक्रमले अन्तर हिमालय साहित्य र सांस्कृतिक प्रवर्द्धन गर्ने बताएको छ।
यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो। प्रतिष्ठानले आफ्ना गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने र विश्वका नवीनतम् प्राज्ञिक प्रवृत्तिसँग नेपाली स्रष्टा–द्रष्टा एवम लेखकलाई परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।
मित्र राष्ट्रका समान उद्देश्य र प्रकृतिका प्राज्ञिक संस्थासँग दुईपक्षीय सहमति कायम गरी अनुभव आदानप्रदानका साथै अन्तर्राष्ट्रियस्तरका गोष्ठी, सम्मेलन र अन्तरक्रिया कार्यक्रमसमेत गर्ने क्रममा कार्यक्रम गर्न लागिएको हो। यस क्षेत्रका अन्य देशले आयोजना गरेका साहित्यिक कार्यक्रममा प्रतिष्ठानले सहभागिता जनाउँदै आएको छ।
सम्मेलनमा विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ। सो अवसरमा कुलपति उप्रेतीले नेपाल–चीन अनुवाद ब्यूरो स्थापना गर्न लागिएको जानकारी दिए। प्रतिष्ठानले भारत र बङ्गलादेशका साहित्यिक कृति पनि अनुवाद गर्ने तयारी गरेको छ। यसका लागि चीन र दक्षिण एशियाली देशका साहित्यिक संस्थासँग सहमतिसमेत भइसकेको छ। रासस