–प्रकाश सिलवाल
काठमाडौं, ०३ कात्तिक। पेटमा प्वाल पारेर बाहिर पाइप जोडिएको छ, त्यही पाइपबाट निश्चित समयमा मात्रा मिलाएर झोल पदार्थ शरीरमा पठाइन्छ। सिँगान र खकारजस्ता बिकार बाहिर निकाल्न छातीमा अर्को प्वाल बनाइएको छ।
अड्किएको मासुको हड्डी निकाल्ने क्रममा अन्ननली काम नलाग्ने भएपछि त्यसलाई काटेर फालिएको छ भने अमृत शर्माको अहिलेको आहारा मुखबाट चल्दैन, सिधै पेटबाट हुन्छ। यो कठिन नियति देख्दा र सुन्दा सबैलाई दुःख लाग्न सक्छ, तर बिरामीको परिवार तुलनात्मकरुपमा खुसी छ। किनकी अमृत शर्मा आचार्यको ज्यान कम्तीमा जोगिएको छ र योभन्दा ठूलो शल्यक्रिया गरेर आमासयको थैली काटेर त्यसलाई सानो बनाएर अप्राकृतिक अन्ननली राख्न सकिने आधार चिकित्सकले दिएका छन्।
बाग्लुङ निवासी अमृत लोकप्रिय जनगायक जीवन शर्माका माइला छोरा भएर मात्र होइन, समस्याको जटिलताका कारण पनि चिकित्सक र सर्वसाधारणका माझ चिनिएका छन्। श्रीमती र दुई महिनाका छोराका साथ हाल नेपालटार बस्दै आएका अमृतको अन्ननलीमा बडादसैँको नवमीका दिन मासुको हड्डी छिरेको थियो। खाँदाखाँदै अमृतले पेटमा बेस्सरी दुखेको जनाएपछि परिवारका सदस्यले पेटको सामान्य समस्या ठानेका थिए।
‘घाँटीमा अड्किएको भए तत्काल समस्या पहिचान भई उपचार गराउन सक्ने सम्भावना थियो, तर पेटमा अड्किएकाले हामीले सुरूमा उसलाई ग्यास्ट्रिक भनेर एक÷दुई दिन घरमै परामर्श र उपचार गरायौँ,’ गायक शर्माले भने, उसको मामा नै चिकित्सक छन्। उनले पनि ग्यास्टि«कको आशङ्का गरेकाले गम्भीर भएनौँ। तर, यति गम्भीर समस्या केही दिनपछि मात्रै थाहा पायौँ।’
छोरालाई छट्पटी सुरू भएका बेला साङ्गीतिक कार्यक्रमका लागि विदेशमा रहेमा गायक शर्मा भ्रमण छोट्याएर स्वदेश फर्किए। र, अमृतलाई ग्रिनसिटी अस्पताल लगे। त्यहाँ तत्काल उपचार सम्भव नभएपछि वीर अस्पताल लगियो। त्यहाँ पनि के–के नमिलेपछि त्रिवि शिक्षण अस्पताल लगियो।
डा रञ्जन सापकोटा नेतृत्वको चिकित्सक समूहले अमृतलाई ज्वरो आइरहेका बेलामा पनि करिब नौ घण्टासम्म लगाएर अन्ननलीको शल्यक्रिया गरियो र पछि सोही परिसरमा रहेको ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा भर्ना गरिएको उनले बताए।
‘सामान्यतः ज्वरो आएको समयमा बिरामीको शल्यक्रिया गरिन्न, तर छोरालाई बचाउन तत्काल शल्यक्रियाबाहेक अर्को विकल्प चिकित्सकले देखेनन्,’ लामो सास तात्दै उनले भने, ‘उनीहरुले बाँच्ने सम्भावना ३० प्रतिशत मात्रै छ भनेर पहिल्यै भनेका थिए, तर बचाएर देखाए। ऊ बाँचेपछि खाने प्रक्रिया र शैलीका लागि अरु उपचार र तरिका अपनाउँदै जाउँला भन्ने सोचेका छौँ।’
अन्ननलीको अर्को व्यवस्थापनका लागि केही समयपछि शल्यक्रिया गर्ने र त्यसका लागि ठूलै रकम खर्च लाग्ने अनुमान गरिएकाले आर्थिक हिसाबले मध्यम परिवारमा रहेका गायक शर्माले सहयोगी हात खोज्नुको विकल्प देखेनन्। शीर्षक र समस्या बेच्न माहिर केही युट्युब र अनलाइनले गायक शर्मालाई ‘पुत्रको बज्रपात’ जस्ता उडन्ते शीर्षक हालेर भ्रमित पनि बनाउन खोजे।
तर, उनको परिवार कत्ति पनि बिचलित नभई उपचारमा तल्लीन छ। रोगको जटिलता र गायक शर्माको छोरा भएकाले पनि अमृतप्रति चासो, सहानुभूति र मायाका साथ आर्थिक सङ्कलन जुट्न थालेको छ।
प्रधानमन्त्रीको चासो
गायक शर्माका छोराको स्वास्थ्यबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन्। प्रधानमन्त्री ओलीले गायक शर्मालाई शनिबार प्रधानमन्त्री निवासमा भेटेर छोराको स्वास्थ्यस्थिति र व्यक्तिगत कुराकानी गरेका हुन्।
‘सिमली छाँयामा बसी’, ‘झरनाको चिसो पानी’जस्ता गीतका सर्जक एवम् गायक शर्मा छोराको उपचारका चरणबारे अलग्गै साहित्य सिर्जना हुने भन्दै छोराको अवस्थाबारे उही कुरा धेरैलाई हरेक दिन सुनाउँदा थकित छन्। – रासस