दमौली, १६ कात्तिक। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई प्रतिपक्षसँग मिलेर काम गर्न सुझाव दिएका छन्। प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता स्वर्गीय गोवर्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिबार दमौलीमा लोकार्पण गर्दै सभापति देउवाले भने, ‘प्रतिपक्ष वैकल्पिक सरकार भएकाले प्रतिपक्षलाई पनि साथमा लिएर काम गर्नुपर्छ।’
सरकारले गरेका हरेक राम्रा क्रियाकलापको नेपाली कांग्रेसले खुलेर सहयोग गर्ने पनि देउवाले बताए। ‘कम्युनिष्ट सरकारले राम्रो काम गरोस्, नेपाली कांग्रेस सहयोग गर्न सदैव तयार छ,’ उनले भने, ‘तर, दुई तिहाईको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य कांग्रेसलाई मान्य हुँदैन। किनकि अहिलेको सरकार कम्युनिष्ट सरकार हो, देश नै कम्युनिष्ट त होइन नि। त्यसैले प्रजातन्त्रका लागि कांग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरुद्धमा जान सक्दैन।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने हो की भन्ने चिन्ता रहेको बताए। ‘प्रजातन्त्र रक्षाका लागि कांग्रेस पछाडि हट्दैन,’ उनले भने, ‘त्यसैले राजनीति र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नुपर्छ।’
अदालत, संवैधानिक निकाय र अख्तियारलाई दुई तिहाईको त्रास देखाउने काम भइरहेको भन्दै नेता पौडेलले वर्तमान सरकारले दुई तिहाई मतको दुरुपयोग गर्न नहुने बताए।