बागलुङ, ०४ मंसिर। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा विदेश जाने क्रम बढेसँगै देश विस्तारै वृद्धाश्रम बन्दै गएको बताएका छन्। बुधबारदेखि बागलुङको गलकोटमा सुरू भएको दोस्रो गलकोट घुम्टे महोत्सवको उद्घाटन गर्दै अध्यक्ष केसीले भने, ‘विप्रेषणले मात्र राष्ट्र र राष्ट्रियता जोगाउन सकिँदैन, विदेशिएका युवालाई देश फर्किने वातावरण तयार गर्नुपर्छ।’
पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका नेता केसीले विगतमा देशमा राजनीतिक स्थिरता नहुँदा विकास हुन नसकेको भए पनि अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने विश्वास व्यक्त गरे। भारतले सीमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताका पक्षमा पहिलोपटक देश विदेशमा रहेका सबै नेपाली एकजुट भएको बताउँदै उनले भने, ‘राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि पहिलोपटक राजनीतिक दलसँगै आम नागरिक एकैठाउँ उभिएका छन्।’
गलकोट क्षेत्रको विकासका निम्ति देश विदेशमा रहेका सबै नागरिकले उत्पादनशील क्षेत्रमा लगानी गर्नका निम्ति पनि उनले आग्रह गरे। ुधबारबाट सुरू भएको महोत्सव मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा लोक दोहोरी गीत प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शन एवं प्रवर्द्वन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।