काठमाडौं, ०५ मंसिर। गृहमन्त्री रामबहादुर थापा (बादल)ले दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताको क्रममा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा आयोजित बैठकमा गृहमन्त्री थापाले साग प्रतियोगिता मुलुकको प्रतिष्ठासँग जोडिएकाले कुनै कमजोरी नहुने गरी सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन्।
प्रतियोगितालाई स्वच्छ, स्वस्थ र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत सुरक्षा निकायलाई गृहमन्त्री थापाले निर्देशन दिए। बैठकमा सागका लागि तयार गरिएको सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो। कार्ययोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालनको खाका तयार पारिएको छ। खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षालाई केन्द्रमा राखेर कार्ययोजना तयार पारिएको छ।
गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै यसलाई थप परिष्कृत गर्दै लैजान निर्देशन दिए। बैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारी सहभागी थिए। यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, ललितपुर, कास्की र धनुषामा १३औँ साग प्रतियोगिता सञ्चालन हुँदैछ।