चितवन, ०५ मंसिर। काठमाडौंको मण्डला थियटरसँगको सहकार्यमा चितवनको नारायणी कला मन्दिरले बिहीबार ‘चरणदास चोर’ नाटक मञ्चन गरेको छ। आउँदो पुस अन्त्यताका नियमित मञ्चन गर्ने गरी तयार पारिएको नाटकको बिहीबार चितवनका साहित्यकार, कलाकार, पत्रकार, व्यवसायी, कलाप्रेमीलगायतको सहभागीतामा विशेष शो मञ्चन गरिएको हो।
भारतीय लेखक विजयदान देथाको कथालाई हबीब तनवीरले नाट्य रूपान्तरण गरेका ‘चरणदास चोर’लाई नेपालीमा भने आशान्त शर्माले अनुवाद गरेका थिए। राजधानीमा पटकपटक मञ्चन गरिसकेको ‘चरणदास चोर’लाई चितवनमा भने पहिलो पटक मञ्चन गरिएको हो। मण्डलामा कार्यरत रंगकर्मी विकाश जोशीको निर्देशनमा चितवनकै कलाकारहरूको उपस्थितिमा नाटक तयार पारिएको हो।
नाटकमा ‘चरणदास चोर’को भूमिकामा रंगकर्मी विवेक तिवारीलाई प्रस्तुत गरिएको छ। मुकुन्द खलपात्र, सुमित आचार्य, विकाश ढकाल, विकाश रसाइली, अञ्जान थपलिया, कृपा अधिकारी, निशु मगर, सलिना वाग्ले, सुनिल ढुंगाना, गोविन्द अधिकारी, पवन श्रेष्ठ, विष्णुमाया विश्वकर्मा, सुमन गहतराज, कुशल घिमिरेलगायतका कलाकारलाई मञ्चमा उभ्याइएको छ।