चितवन, ०६ मंसिर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बन्द रहेका उद्योगलाई सञ्चालन गर्न सरकारले गृहकार्य सुरू गरेको बताएका छन्। चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरू भएको ‘चौथो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०७६’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले व्यवसायीको समस्या जटिल बन्दै गएको भन्दै उद्योग स्थापना गर्दा देखिने सामाजिक समस्या समाधान गर्न आवश्यक रहेको बताएका हुन्।
मन्त्री भट्टले एकद्वार नीतिमार्फत अगाडि बढ्नुपर्ने भन्दै मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीलाई एउटै मन्त्रालयमा सेवा दिने गरी काम गर्नु आवश्यक रहेको बताए। आयात रोकेर निर्यातमुखी उत्पादन गर्न आवश्यक रहेको उनले बताए। कृषि क्षेत्रलाई औद्योगीकरण र व्यावसायिकरूपमा अघि बढाउन भूगोलअनुसारको प्रविधि जोड्नु आवश्यक रहेको पनि उनले औँल्याए।
कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्वन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो।
यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहेका छन्। करिब १० करोड रूपैयाँभन्दा बढी आर्थिक कारोबार हुने लक्ष्य लिइएको प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार राखिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा ७० जिल्लाका ३५ हजारभन्दा बढी कृषकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। – रासस