चितवन, ०९ मंसिर। निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको अध्यक्षमा बाबुराम आचार्य निर्वाचित भएका छन्। सोमबार भरतपुरमा भएको २२औँ अधिवेशन तथा १५औँ साधारण सभाबाट आचार्यको नेतृत्वमा दुईवर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरिएको हो।
संघको वरिष्ठ उपाध्यक्षमा डोलकप्रसाद पुडासैनी, प्रथम उपाध्यक्षमा नरहरि घिमिरे, द्वितीय उपाध्यक्षमा दयाराम सुवेदी र तृतीय उपाध्यक्षमा तोयानाथ घिमिरे चयन भएका छन्। यस्तै महासचिवमा शालिक दवाडी, सचिवमा अर्जुन लामिछाने, कोषाध्यक्षमा बाबुराम श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्दीपकुमार अग्रवाललाई सर्वसम्मत चयन गरिएको संघका निवर्तमान अध्यक्ष शिवप्रसाद ओझाले जानकारी दिए।
उनका अनुसार सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो। २०५३ सालमा स्थापना भएको यो संस्था उद्योग वाणिज्य संघ चितवनको सबैभन्दा पहिलो वस्तुगत संघ हो। संघ स्थापना भएको दुई दशकभन्दा बढी भइसक्दासमेत संघको आफ्नै भवन नभएकोले यही कार्यकालमा भवन निर्माणको लागि कदम चाल्ने नयाँ कार्यसमितिले प्रतिवद्धता जनाएको छ।
अध्यक्ष आचार्यका अनुसार संघको भवन निर्माणको लागि जग्गा खरिद गरिसकेको छ। हालसम्म ३४१ व्यवसायी आवद्ध यस संस्थाले यही कार्यसमितिले भवन निर्माणको कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाएको छ।
क्रिकेट मैदानको लागि आर्थिक सहयोग

भरतपुर १५ शान्तिचोकमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी हरिप्रसाद गैरेले आर्थिक सहयोग गरेका छन्। उनले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई एकलाख एकहजार १११ रूपैयाँ नगद सहयोग गरेका हुन्।
सोमबार सम्पन्न संघको २२औँ साधारण सभा तथा १५औँ अधिवेशनको क्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानसहित उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी तथा निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघका पदाधिकारीहरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।