कलैया, ०२ पुस। अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए।
अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वतावरण सहज गरिदिन कलैयास्थित रहेको सिद्धेश्वर विद्यालयबाट निज यादवलाई नगदसहित पक्राउ गरिएको हो। यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत पाँच महिनादेखि काजमा बस्दै आएका थिए। भारतबाट अवैधरुपमा सामान नेपालसम्म ल्याउन यादवले व्यापारीसँग मोटो रकम लिने गरेको अख्तियारको दाबी छ। – रासस