युएई, ०३ पुस। भिजिट नेपाल–२०२० लाई सफल पार्न युएईमा सुझाव संकलन गरिएको छ। सरकारको योजनालाई सफल बनाउन प्रचारपसारका लागि १६ डिसेम्बरमा अन्तरक्रिया आयोजना गरेर गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईको संयोजन र संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सुझाव संकलन गरिएको हो।
मन्त्रालयका उपसचिव राजन पौडेलको नेतृत्वमा यूएई भ्रमणमा रहेको टोलीले यूएईमा कार्यरत नेपालीहरुसँग भिजिट नेपाल–२०२० लाई सफल बनाउने बिषयमा छलफल तथा सुझाव संकलन गरेको हो।
कार्यक्रममा एनआरएनए मध्यपूर्व उप–संयोजक मनोज गोर्खाली, नेपाली जनसम्पर्क समितिका भुवानप्रसाद तिमल्सिना, जनप्रगतिशिल मञ्चका बाबुराम विश्वकर्मा, नेपाली समाजका गोबिन्द ढकाल, संघीय समाजका बाबुराम लोप्चनलगायतले सरकारले बाटोघाटो तथा पूर्वधार विकास र अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रचारपसारमा जोड दिन सुझाव दिएका थिए।
एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, ब्यवस्थित र सुलभ यातायात, सार्वजनिक शौचालय जस्ता विषयहरुमा सुधार गर्न उनीहरुले सुझाव दिएका छन्। पर्यटकको स्वास्थ्य तथा सामाजिक सुरक्षाका बिषयमा सरकार गम्भीर हुनेपर्ने पनि उनीहरुको सुझाव थियो। उप–सचिव पौडेलले नेपाललाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रवल सम्भावना रहेकोमा जोड दिए।
उनले भ्रमण वर्षलाई सफल पार्न बिदेशमा रहेका नेपालीहरुको ठूलो सहयोगको खाँचो रहेको बताए। एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।