चितवन, ११ पुस। तमू प्ये ल्हू संघ भीमनगर इकाइ समितिले भरतपुर महानगरपालिकाको वडा नं. २० स्थित भीमनगरमा क्होइबो धीँ निर्माण गरेको छ। करिब ६० लाख रूपैयाँको लागतमा निर्माण भएको खैकुन क्होइबो धीँको यही पुस १४ गते तमू ल्होसार पर्वको अवसर पारेर विधिवत उद्घाटन गर्ने तयारी भइरहेको प्ये ल्हू संघ चितवनले जनाएको छ।
स्थानीय खमिनीदेवी गुरूङ, कृष्णबहादुर गुरूङ र पोँजोको आमा समूहले समान १० धुरको दरमा निःशुल्क जग्गा दान गरेपछि कूल डेढ कट्ठा जग्गामा उक्त क्होइबो निर्माण गरिएको इकाइ समितिका अध्यक्ष केहेरमान गुरूङले जानकारी दिए। जग्गा स्थानीय दाताले उपलब्ध गराए पनि क्होइबो निर्माणको लागि भने स्थानीयबाट रकम संकलन गरिएको थियो।
प्ये ल्हू संघ जिल्ला कार्यसमिति चितवनले हालसम्म १८ स्थानमा इकाइ समिति गठन गरिसकेको छ। तीमध्ये हालसम्ममा चितवनमा जम्मा चारवटा क्होइबो धीँ निर्माण भइसकेको जिल्ला अध्यक्ष जगतबहादुर गुरूङले जानकारी दिए।
यसअघि कुखी माङी (सूर्यनगर), मुमला (गुञ्जनगर) र खेमा (नौरङ्गे) निर्माण भइसकेका छन्। जिल्लाका सबै इकाइ समितिले क्होइबो धीँ निर्माणको लागि प्रयास भइरहेको उनले बताए। वि.सं.२०६० सालमा गठन भएको प्ये ल्हू संघ चितवनले तमू ल्होसार पर्वमा दिँदै आएको सार्वजनिक बिदा गतवर्षदेखि कटौती गरेको भन्दै सरकारसँग पुनः बिदा दिन पनि माग गरेको छ।
प्ये ल्हू संघ चितवनले पुस १४ गते सोही क्होइबोमा भेला भई भव्यरुपमा ल्होसार पर्व मनाउने तयारी गरेको छ। पुस १५ गते विशेष दिन भएकोले त्यसदिन हरेक इकाइ समितिले आ–आफ्नो इकाइमा ल्होसार पर्व मनाउने हुँदा समग्र भला भएर १४ गते मनाउने निर्णय गरिएको केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष तुलाराम गुरूङले जानकारी दिए।