पर्सा, ११ पुस। सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष–२०२० लाई लक्षित गर्दै पर्साको ठोरीमा पहिलो पटक हात्ती महोत्सव आयोजना हुने भएको छ। देश नै भ्रमण बर्षमय भईरहदा पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरमा हात्ती महोत्सव हुन लागेको हो।
ठोरीमै पहिलोपटक हुन लागेको महोत्सव यही पुस २५ गतेदेखि २९ गतेसम्म चल्ने ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए। पर्यटन प्रवर्द्वनका लागि महोत्सवले महत्तवपूर्ण भूमिका खेल्ने गाउँपालिकाले जनाएको छ।
महोत्सवको माध्यमबाट ठोरीलाई पर्यटकीय गन्तव्यको रूपमा समेत विकास गर्न सकिने उनको भनाइ छ। ठोरीमा प्रदेश २ मै पहिलो पटक होमस्टेसमेत सञ्चालन गरिएको थियो।