काठमाडौं, पुस १६। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सच्याउन माग गरेको छ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार एक विज्ञप्तिमार्फत उक्त विधेयक संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन हुने आरोप लगाउँदै विधेयक सच्याएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले नेपालको संविधानले नेपाली नागरिकको स्वतन्त्रता, नागरिक अधिकार, मौलिक अधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्व राज्यको भएको बताए। कुनै पनि बहानामा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐननियम बनाउने कदमप्रति काँग्रेस संसदीय दलले विरोध गर्ने जनाएको छ।
प्रमुख सचेतक बालकृष्ण खाणले संविधानको प्रावधानको प्रतिकूल हुने र नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कदमप्रति सबै पक्षलाई अग्रसर हुन पनि आग्रह गरेका छन्। रासस