इनरुवा, पुस १७। राष्ट्रिय समाचार समिति इटहरीका समाचारदाता याम प्रधानको निधन भएको छ। मिर्गौला रोगबाट पीडित भई घरमै थलिनुभएका ५२ वर्षीय पत्रकार प्रधानको बिहीबार बिहान आफ्नै निवास इटहरीमा निधन भएको हो। सुनसरीका पुरानो पत्रकारका रूपमा परिचित प्रधान प्रेस स्वतन्त्रता सेनानीसमेत हुन्।
सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिने उनी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति समेत हुन्। प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए। प्रेस युनियनमा समेत आबद्ध प्रधानले लामो समयदेखि घरमै उपचार गराइरहेका थिए।
उनको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन्। पत्रकार महासङ्घ सुनसरी शाखाले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको अध्यक्ष खड्काले बताए। महासङ्घका अनुसार बिहीबार बिहान ९ बजे गङ्गाजमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिने छ। प्रधानका एक छोरी र श्रीमती छन्।