काठमाडौं, पुस १७ । गतवर्ष प्रदर्शनमा आएको बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ अब आफूले चाहेको समयमा हेर्न मिल्ने भएको छ।
नयाँ वर्ष सन् २०२० देखि फोपी एपमा फिल्म रिलिज गरिएको हो। समीक्षकबाट राम्रो प्रतिक्रिया बटुलेको फिल्म यस एपमा विश्वको प्रायजसो देशबाट आफ्नै मोबाइलमै हेर्न सकिनेछ।
विदेश प्रदर्शनबाट राम्रो प्रतिक्रिया समेत पाएको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको थियो। यस फिल्म अभिनयबाट खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत हात पार्न सफल भइन्।
पछिल्लो समय यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत आफूलाई अब्बल सावित गर्ने प्रयासमा छ। नेपालमा भएका मोबाइल प्रयोगकर्ताले यसरी फिल्म हेर्दा रु ५० तिर्नु पर्नेछ । आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेन्स वा खल्ती वा इसेवाबाट पनि पैसा तिर्न सकिने छ ।

यसका अलावा भारतमा पेटिएम, मलेसियामा कार्ड र अन्य देशहरुमा बैंकको कार्डबाट फिल्म खरिद गर्न सकिन्छ। पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउनुनै फोपी एपको एकमात्र उद्देश्य रहेको यस एपका संस्थापक अध्यक्ष प्रशान्तजंग कार्कीले बताए।
नेपाली फिल्मलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी समेत आफू रहेको कार्कीले जानकारी दिए। यो एप अहिले प्ले स्टोरमा उपलब्ध छ।