चितवन, पुस १८ । चितवनमा एक हप्तासम्म ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ। विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले उक्त सप्ताह शुरु गर्न लागिएको हो। पुस २२ गतेदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए।
सप्ताहमा जनचेतनामूलक ¥याली, सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर र रत्ननगर महोत्सवमा अन्तरक्रिया तथा नाटक प्रस्तुत गरिने उनले बताए। बाली संरक्षण, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौँ, बाली संरक्षण प्रयोगशाला प्रदेश नं ३ हेटौँडा र कृषि ज्ञान केन्द्र चितवनले संयुक्तरूपमा कार्यक्रम गर्न लागेका हुन्।
कार्यक्रममार्फत बालीनालीलाई जोगाउन प्राङ्गारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारीवोध गर्न सबैलाई आग्रह गरिने ढकालले बताए। सप्ताह अवधिभर केन्द्र र जिल्लाका प्राविधिकहरु खटिनेछन्। प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भरतपुर–२ क्षेत्रपुरको तरकारी बजारमा दुई साताअघि मात्र विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको छ।
प्रयोगशालामा दैनिकरूपमा तरकारी तथा फलफूलको विषादी परीक्षण हुने गरेको छ। विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ। यसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडापखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ। रासस