काठमाण्डौं, पुस १८ । राष्ट्रिय भवन संहिता–१०५ लाई मौलिकरूपमा परिमार्जन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ । विसं २०७२ वैशाखको भूकम्प र त्यसपछि पटक–पटकको परकम्पका कारण निजी तथा सार्वजनिक भवनमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो।
प्राधिकरणको सक्रियतामा शहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको हालैको बैठकले परिमार्जित संहिता पारित गरेको एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए।
संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलिक भवन संहिता बनेको उनले बताए। यसअघि राष्ट्रिय भवन संहिता भारतलगायत देशले निर्माण गरेको आधारमा बनाइएको थियो। परिमार्जित संहिताअनुसार डिजाइन निर्देशिका बन्नेछ।
निर्देशिकाका आधारमा मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ। नेपालको भूकम्पीय जोखिम, भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको एकाइ (भवन) का आयोजना निर्देशक प्याकुरेलले बताउनुभयो । “यो पूर्णतः नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन संहिता हो, हामीले भूकम्पपछिको पुनःनिर्माणका क्रममा बलियो संरचना मात्र बनाएनौँ, त्यसको संहिता पनि परिमार्जन गरेका छौँ”, उनले भने।
एकाइ (भवन) ले २०७४ मङ्सिरदेखि संहिता परिमार्जन शुरु गरेको थियो। त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकार भएका सङ्घसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेज, खानी तथा भूगर्भ विभागलगायतसँग बृहत् अन्तक्र्रिया तथा कार्यशाला गरिएको थियो। संहिता परिमार्जनका क्रममा ‘भूकम्पीय जोखिम नक्सा पनि तयार गरिएको छ। संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्नेछ।
संहिता परिमार्जनका लागि मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको थियो। त्यसैगरी, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो।