मुम्बई, पुस १८ । बलिउड अभिनेता रणवीर सिंह अहिले निकै चर्चामा छन्। भारतीय सञ्चारमाध्यमहरूमा उनका बारे फैलिएको खबरले सबैलाई अचम्म बनाएको छ। सञ्चारमाध्यमहरूका अनुसार रणवीर सिंहले नयाँ फ्ल्याट भाडामा लिएका छन् र यो फ्ल्याट उनकै श्रीमती तथा अभिनेत्री दीपिका पादुकोणको फ्ल्याट भएकै भवनमा छ।
दीपिकाले सन् २०१० मा मुम्बईको प्रभादेवीस्थित बीउमोंड टवर्समा भारू १६ करोडमा चार बेडरूम भएको फ्ल्याट किनेकी थिइन्। अहिले आएर रणवीर यही भवनमा भारू सात लाख २५ हजार महिनामा तिर्ने गरी अर्को फ्ल्याट भाडामा लिएका बताइएको छ।
द इन्डियन एक्सप्रेस र टाइम्स अफ इन्डियाका अनुसार रणवीर सिंहले तीन वर्षका लागि फ्ल्याट भाडामा लिएका हुन्। पहिलेका दुई वर्ष उनले सात लाख २५ हजार र पछिको एक वर्ष उनले सात लाख ९७ हजार भारू भाडा दिनुपर्नेछ।
यो खबरले धेरैलाई चकित बनाइरहेको छ। रणवीर र दीपिकाले गत वर्ष मार्चमा बिहे गरेका हुन्। आफ्नै श्रीमतीको फ्ल्याट भएको घरमा उनले किन अर्को फ्ल्याट भाडामा लिए भन्नेबारे चासो बढिरहेको छ।
फिल्मको कुरा गर्दा रणवीर सिंहको नयाँ फिल्म ८३ आउँदैछ। यो फिल्म सन् १९८३ मा भारतले वर्ल्डकप जितेको कथामा आधारित छ। फिल्ममा रणवीर कपिल देवको र दीपिका पादुकोण कपिलकी श्रीमतीको भूमिकामा देखिँदैछन्। एजेन्सी