चितवन, पुस १८ । देवघाटमा हरेक वर्ष माघेसक्रान्ती मेला लाग्ने गर्दछ। सांस्कृतिक पर्वको रूपमा मानिने उक्त मेलाको लागि हरेक वर्ष देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन गर्दै आएको छ। धार्मिक मान्यताअनुसार देवघाटस्थित काली र त्रिशूलीको संगमस्थलमा स्नान गर्न हरेक वर्ष हज्जारौँको संख्यामा भक्तजन देवघाट आउने गर्दछन्।
तर, नदी किनारमा हुने मेला भएकोले नदीमा स्नान गर्ने क्रममा दुर्घटनासमेत हुन सक्ने हुँदा मेला व्यवस्थापनमा चनाखो हुनुपर्ने चुनौती रहेको क्षेत्रविकास समिति दवेघाटका अध्यक्ष शिवराज पौडेल बताउँछन्। चितवन, नवलपुर र तनहुँको संगमस्थलमा रहेकोले तीनवटै जिल्लाका सरोकारवाला निकायसँग हरेक वर्ष यो समयमा बृहत छलफल हुने गर्दछ। यसवर्ष पनि जिल्ला प्रसासन कार्यालय चितवनमा शुक्रबार प्रतिवद्धतासहितको छलफल भएको छ।
भक्तजनको गुनासो हरेक वर्ष उस्तै
देवघाटधाम देशकै मह¤वपूर्ण धार्मिक तीर्थस्थल हो। त्यसैले पनि हरेक वर्ष साउन महिनाभर र माघे सक्रान्तीको समयमा भक्तजनको अत्याधिक भीड लाग्ने गर्दछ। तर, हरेक वर्ष भक्तजनले सास्ती पनि उत्तिकै खेप्न बाध्य छन्। टाढाबाट आउने भक्तजनको लागि आवास, बिजुली, खानेपानी, यातायातलगायतमा समस्या झेल्दै आएका छन्।
तर, यसवर्ष विगतमा भएका कमीकमजोरीलाई सुधार गरेर मेला सम्पन्न गर्ने योजना रहेको क्षेत्रविकास समितिले जनाएको छ। त्यसको लागि खानेपानी, विद्युत, यातायात, जलयात्रा, पार्किङलगायतका विषयमा सम्बन्धित सबै जिल्लाका सरोकारवाला निकायसँग छलफल भइसकेको अध्यक्ष पौडेलले जानकारी दिए।
हरेक वर्ष ठगिन्छन् यात्रु
देवपुर टोल विकास संस्थाका अध्यक्ष सुक गुरूङले हरेक वर्ष यातायातको साधनमा सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो गरे। मेला व्यवस्थापन समितिअन्तर्गत स्वयमसेवक परिचालन उपसमितिका संयोजकसमेत रहेका अध्यक्ष गुरूङले भने, ‘भाडामा अनियमितता कायमै रहेकोले त्यसलाई समायोजन गर्नुपर्ने देखिन्छ, नत्रभने धेरै यात्रु ठगिइन सक्छ।’ सम्बन्धित निकायले भाडादर नतोक्दा साना सवारीसाधनले मनलाग्दी भाडा लिने गरेको उनको भनाइ छ।
अस्थायी बत्तीको व्यवस्था
विद्युत प्राधिकरण भरतपुरले माघे सक्रान्ती मेलालाई उज्यालो बनाउन देवघाट क्षेत्रमा अस्थायी विद्युतको व्यवस्था गर्ने भएको छ। विद्युतको लागि अस्थायी बत्ती बाल्न कानूनी प्रकृया चालेर बेलैमा तयार हुन प्राधिकरणले क्षेत्रविकास समितिलाई आग्रह गरेको छ।
गतवर्ष सडकमा बत्तीसमेत नहुँदा भक्तजनले अँध्यारो भएको गुनासो आएकाले यसवर्ष समयमै प्रकृया पु¥याएर अस्थायी बत्ती जडान गर्न भनिएको प्राधिकरणका इञ्जिनियर विनोद सापकोटाले जानकारी दिए।
‘सुरक्षित तरिकाले मेला सम्पन्न गरौँ’
मेला व्यवस्थापनको लागि चितवन जिल्लाबाट सुरक्षा, यातायात, विद्युत, स्वास्थ्यलगायका सबै सुविधा पाउने आश्वासन दिँदै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मेला व्यवस्थापन समितिलाई सामान्य कमीकमजोरी पनि हुन नदिन निर्देशन दिएका छन्। ‘तपाइँहरू ढुक्क भएर काम गर्नुस्, प्रसासनबाट पाउनुपर्ने सबै सेवा सुविधा पाइन्छ,’ उनले भने।