रवीन्द्र काफ्ले, पाँचथर, पुस १८। पाँचथरको एक सहकारी संस्थाले व्यावसायिक पशुपालन गर्ने कृषकलाई घरैमा पुगेर उन्नत जातका पशु खरिदका लागि रकम उपलब्ध गराएको छ। व्यावसायिक पशुपालनका लागि उद्यमशिलता विकाससम्बन्धी तालीम लिएका कृषकलाई पशु खरिदका लागि नगदका अतिरिक्त उक्त सहकारीले प्राविधिक ज्ञान र पशुको उपचारमा सहयोगसमेत प्रदान गर्दै आएको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रहेको फिक्चुखोला कृषि सहकारी संस्थाले उक्त गाउँपालिकाको वडा नं १, २, ३ र ४ का ७० जना कृषकको घर दैलोमै पुगेर व्यावसायिक पशुपालनका लागि सरल ब्याजदरमा घुम्ती कोषको कर्जा उपलब्ध गराएको हो। सहकारीले प्रत्येक कृषकलाई उन्नत प्रजातिको गाई वा भैँसी खरिदका लागि रु ४० हजारका दरले घुम्ती कोष वितरण गरेको हो। उक्त सहकारीले फाल्गुनन्दको वडा नं १ का २१ जना, वडा नं २ का नौ जना, वडा नं ३ र ४ का २०/२० जना कृषकलाई उक्त घुम्ती कोष उपलब्ध गराएको छ।
सहकारीले वडामै कार्यक्रमको आयोजना गरी कृषकलाई घुम्ती कोषको रकमको चेक उपलब्ध गराएको हो। दूध तथा दूग्धजन्य सामग्री उत्पादनमा सहयोग गरी कृषकको आयस्तर उकास्ने उद्देश्यले उक्त सहकारीले घुम्ती कोष परिचालन गरी ऋण लगानी गरेको हो। सहकारीले व्यावसायिक पशुपालनका लागि कृषकलाई प्राविधिक सहयोग र पशु बीमाका लागिसमेत सहयोग गरेको छ। अन्तर्राष्ट्रिय दातृ संस्था गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा घुम्ती कोष परिचालनमा ल्याइएको फिक्चुखोला कृषि सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले जानकारी दिए।
परम्परागत पशुपालन गर्दै आएका कृषकलाई उन्नत प्रजातिका गाईभैँसी खरिद गरी व्यावसायिक रुपमा दूध उत्पादनमा केन्द्रित गर्दै आर्थिकस्तर उकास्ने उद्देश्यले उक्त सहकारीले पशुपालनका लागि घुम्ती कोष कर्जा उपलब्ध गराएको अध्यक्ष नेम्वाङको भनाइ छ। कृषकले कर्जाको प्रत्येक महिना ब्याज र प्रत्येक तीन महिनामा घुम्ती कोष वापतको किस्ता रकम फिर्ता गर्नुपर्नेछ। उन्नत प्रजातिका पशुपालन गर्ने कृषकले दूध बिक्रीबाट नै उक्त कर्जा फिर्ता गर्न सक्ने अध्यक्ष नेम्वाङले बताए।
यस अतिरिक्त उन्नत प्रजातिको पशु खरिद गर्ने, भकारो सुधार गर्ने र पशुको बीमा गर्ने कृषकलाई सहकारीले रु १० हजार प्रोत्साहन रकमसमेत उपलब्ध गराउने भएको छ। कृषकले व्यावसायिक पशुपालनलाई अघि बढाएपछि सहकारीले दूध तथा दूग्धजन्य पदार्थ सङ्कलन, ढुवानी र उद्योग स्थापनाका लागि लगानी गर्ने कृषकमाँझ प्रतिबद्धतासमेत गरेको छ। यसका लागि दातृ संस्थासँग सहकार्यका लागि सम्झौतासमेत भइसकेको सहकारीका अध्यक्ष नेम्वाङले जानकारी दिए। उक्त सहकारीले हालसम्म गुड नेवर्स इन्टरनेशनलको सहयोगमा रोजगारी सिर्जना तथा मूल्य श्रृङ्खला विकास परियोजना सञ्चालन गर्दै आएको थियो।