काडमाडौँ, पुस १९ । राष्ट्रिय बालअधिकार परिषदले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ। परिषदले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट ६ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ।
त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए। परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला समाज काठमाडौँबाट ती बालबालिकाको उद्धार गरेको हो।
आर्थिक वर्ष २०७४/०७५ मा ९ बालगृहबाट १४७ बालबालिकाको उद्धार गरिएको थियो। विसं २०६९ देखि लागु गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचारको अन्तिम उपाय सुनिश्चित गरिनुपर्ने, बालगृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने र बालबालिकालाई बालगृहमा भर्ना गर्ने बित्तिकै आवास, पोशाक र भोजनको व्यवस्था गर्नुपर्नेलगायतका मापदण्ड राखिएको छ।
विसं २०७६ असार मसान्तसम्ममा ४६ जिल्लामा ५३३ बालगृह छन्। ती बालगृहमा १५ हजार ५६५ बालबालिका संरक्षित छन्। अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ। परिषदका अनुसार २७ जिल्लाका १४७ धार्मिक सङ्घसंस्थामा छ हजार ६८६ (पाँच हजार २३४ बालक र एक हजार ४५२ बालिका) बालबालिका आवासीय छन्।
जिल्लामध्ये ४५ जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार झापा, प्यूठान, पाँचथर, धादिङ, दैलेख, ओखलढुङ्गा, कञ्चनपुर, भोजपुर, मुगु, स्याङ्जा, भक्तपुर, इलाम, मकवानपुर, हुम्ला र काठमाडौँलगायतका २७ जिल्लाका धार्मिक सङ्घसंस्थामा बालबालिका आवासीय छन्। रासस




