काठमाडौँ, पुस १९ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबारदेखि पाँचौँ चरणका खेलहरु सुरु हुँदैछन्। शनिबार दुईवटा खेल हुनेछन्। दिउँसो १२ बजे हुने पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ। यो खेल सातदोबाटो स्थित एन्फा मैदानमा हुनेछ।
यसअघिका चार मध्ये दुई खेलमा जित र दुईमा बराबरी गरेको जावलाखेल ८ अंकसहित चौथो स्थानमा छ। दुईमा जित र दुईमा हार व्यहोरेको एनआरटी चार अंकसहित आठौँ स्थानमा छ। गएको वर्ष रेलिगेशन नभएका कारण एनआरटीबाट यो सिजन दुई अंक काटिएको छ।
यस्तै शनिबार दिउँसो तीन बजेपछि त्रिपूरेश्वर स्थित दशरथ रंगशालमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ। तीनमा जित र एक खेलमा बराबरी गरेको मनाङ १० अंकसहित शीर्ष स्थानमा छ।
तीन खेलमा जित र एक खेलमा बराबरी गरेको मच्छिन्द्र क्लब ९ अंकसहित दोस्रो स्थानमा छ। गएको सिजन रेलिगेशन जोनमा परेकाले उसबाट एक अंक काटिएको छ। तर यो सिजन मच्छिन्द्रले राम्रो प्रदर्शन गर्दै आएको छ।