काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनका लागि भोलि (आइतबार) मनोनयन दर्ता हुँदैछ। दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन हुंदैछ।
एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ। निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी तथा नेपाली कांग्रेस र समाजवादी पार्टी गठबन्धन बनाएर जाने भएका छन्।
नेकपाले १८ मध्ये १६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। नेपाली कांग्रेसले आन्तरिक विवादका कारण उम्मेदवार चयन गर्न सकेको छैन। उम्मेदवार चयनको जिम्मा कांग्रेसले पार्टी पदाधिकारीलाई दिएको छ। राजपा र समाजवादीले आजसम्म उम्मेदवार तय गर्ने जनाएका छन्।
नेकपा र राजापाबीच प्रदेश नम्बर २ मा २—२ सिटमा सहमति भएको छ। कांग्रेस र समाजवादी पार्टीबीच प्रदेश–२ का ४ सीटमा तालमेल गर्ने सहमति भएको छ।कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको हो।