काठमाडाै, पुस १९ । विकास निर्माणको काम गराउने सरकारी निकायमा पैसा नखुवाई कुनै काम नै बन्दैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकै रुपमा रहेको सडक डिभिजन कार्यालय लहान, सिरहाका इञ्जिनीयरसहितका कर्मचारी पक्राउ गरेको छ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ परेका हुन्। इञ्जिनीयर नवीनकुमार साह र सब-इञ्जिनीयर वीरेन्द्रकुमार साहलाई रु १५ लाख ९६ हजार घुससहित पक्राउ गरिएको छ। कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो।
आयोगले उनीहरुलाई कार्यालय परिसरबाट शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धानपछि आज सार्वजनिक गरेको हो। – रासस