चितवन, पुस २० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थिर सरकार भएकै कारण नेपाली जनता निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्। चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ स्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई बोल्दै प्रवक्ता शर्माले भने, ‘सरकारमा कुन दल छ भन्ने कुरालाई छाडिदिनोस्, तर, स्थिर सरकार बनेको छ, देशमा शान्ति छाएको छ। त्यसैले सबै मिलेर सरकारलाई सहयोग गर्नुपर्छ।’
तर, सरकारका कमजोरीमा भने खबरदारी गरिरहनुपर्ने उनको भनाइ छ। विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञानमात्र नभई संस्कार पनि सिकाउन पनि आग्रह गरे। गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङले गाउँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताइन्। विसं २०२७ मा स्थापना भएको विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो।
स्वर्ण महोत्सवको अवसरमा सातै दिन विभिन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने महानुभावलाई सम्मानसमेत गरिएको विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिए।