पुष २० । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले चार दिने टेष्टलाई आफुले समर्थन नगर्ने बताएका छन्।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारी गरिरहदा भारतीय कप्तान कोहली भने यसको विपक्षमा देखिएका छन्।
चार दिने टेष्ट ? म यसको समर्थक हैन, घरेलु भूमिमा श्रीलंकासँगको टी ट्वान्टी अघि कोहलीले भने, मलाई लाग्छ यो ठिक हुँदैन। किनकी तपाई तीन दिनको टेष्टको कुरा गर्नु हुनेछ। त्यसपछि तपाई टेष्ट क्रिकेट हराउने कुरा गर्नु हुनेछ। म यसलाई समर्थन गर्दिन।
आईसीसीले टेष्टलाई ४ दिनमा झार्ने तयारीसहित सदस्य राष्ट्रको बोर्डसँग छलफल गरिरहेको छ। हाल चार दिनमा नतिजा नआएको टेष्ट पाँचौं दिनसम्म हुने गर्छ।
टेष्ट क्रिकेटको कारण अन्य क्रिकेट सिरिजमा असर पर्ने भएको कारण टेष्ट क्रिकेटलाई ४ दिनमा सिमित गर्न लागिएको हो। सन् २०२३ अर्थात विश्व टेष्ट च्याम्पियनसिपपछि टेष्ट क्रिकेट ४ दिनको बनाउने आईसीसीले तयारी गरेको छ। चार दिनमा सिमित हुने टेष्टमा हरेक दिन कम्तिमा ९० देखि ९८ ओभरको हुनेछ। यसको अर्थ ५ दिन चल्ने टेष्ट भन्दा ४ दिनको टेष्टमा मात्र ५८ ओभर कम हुनेछ।
तर, कोहलीले चार दिने टेष्टको ढाँचा राम्रो नहुने बताए। उनले पाँच दिने ढाँचा नै टेष्ट क्रिकेटको सबैभन्दा राम्रो भएको बताए। मलाई लाग्दैन कि त्यो खेलको उत्कृष्ट ढाँचा हो। क्रिकेट कसरी सुरु भयो ? पाँच दिने टेष्ट अन्तर्राष्ट्रिय स्तरको टेष्ट हो, कोहलीले थपे, यो परिवर्तन गर्नु हुँदैन ।