काठमाण्डौ, पुस २० । सुनको भाउले आइतबार फेरी नयाँ रेकर्ड बनाएको छ।
सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सुन आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो। गएको शुक्रबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो।
अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए।
सुनको भाउ तोलाको ८० हजारको हाराहारीमा पुग्ने देखिएको उनको भनाइ छ । दुई दिनमा मात्रै सुनको भाउ ३० डलरले बढेको छ भने नेपालमा दुई हजार रुपैयाँ महँगो भएको छ । सुनको भाउ बढे पनि चाँदीको भाउ भने घटबढ भएको छैन ।
चाँदी गएको शुक्रबार जस्तै आइतबार पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।