ठोरी, पुस २० । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा ठोरी गाउँपालिकाले आयोजना गर्न लागेको ‘प्रथम हात्ती महोत्सवको तयारी तीव्र पारेको छ। यही पौष २४ गतेदेखि ठोरी, गडुवालाइनमा हुने महोत्सवलाई सफल पार्न महोत्सवस्थल व्यवस्थापनको काम भइरहेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ (पीएल)ले जानकारी दिए।
उनका अनुसार बाहिरबाट आउने आगन्तुकलाई महोत्सवस्थलसम्म पुर्याउन बाटो मर्मतको काम गरिसकिएको छ। ‘महोत्सवस्थलमा रहेको १०० मिटर लम्बाई र ८० मिटर चौडाईको पोखरीमा डुङ्गा चलाउनका लागि पोखरीमा पानी भर्ने काम हुँदैछ,’ उनले भने, ‘डुङ्गा चलाउने बिषयमा दुर्घटनाबाट बच्न र बचाउन गहन अध्ययन गरेर पानी भर्न लागेका हौँ।’ पर्यटकलाई महोत्सवको आकर्षण बढाउन पोखरी बनाई डुङ्गा सञ्चालन गर्न लागेको उनको भनाइ छ।
महोत्सव सफल बनाउन प्रचारप्रसारको काममा समेत तीव्रता दिइएको उनले बताए। पुस २९ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका साथै ठोरीको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले आयोजना गर्न लागेको उनले बताए। महोत्सवमा हात्ती सफारीमार्फत राष्ट्रिय निकुञ्ज अवलोकन गर्न सकिनेछ। साथै जिप सफारीमार्फत पनि निकुञ्ज अवलोकन गर्न सकिन उनले बताए।
महोत्सवले ठोरी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चितवन राष्ट्रिय निकुञ्जसँगै गोले डाँडा, रानीवन, सीतागुफा, सेतो भीर, बागमुर्चामाई मन्दिर, शिकारीबास, अग्रम बाबाको दरबारलगायत ठोरीका प्रमुख पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमा विभिन्न खालका खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुनेछन्।