चितवन, पुस २० । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वको लागि गोलाप्रथाबाट उम्मेदवार चयन गरेको विषयमा नेपाली कांग्रेस चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उद्योग वाणिज्य संघ जस्तो व्यावसायिक हकहितको क्षेत्रमा काम गर्दै आएको संस्थामा दलगत हिसाबले मनोनयन दर्ता गरेको भन्दै कांग्रेस चितवनले विज्ञप्तीमार्फत आपत्ति जनाएको हो।
पार्टी सभापति जीतनारायण श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘संस्थाको विधि–विधान र प्रचलित लोकतान्त्रिक मूल्यको अनुशरण नगरी सीमित व्यक्तिको मनोगत उद्देश्यबाट प्रेरित रही गोलाप्रथाको माध्यमबाट नेतृत्व चयनको उम्मेदवार छनौट गरिएको भन्ने समाचारप्रसत नेपाली कांग्रेस चितवन गम्भीर असहमति प्रकट गर्दछ।’

यही पुस २८ र २९ गते उद्योग वाणिज्य संघ चितवनको ५३ औँ साधारण सभा तथा अधिवेशन हुँदैछ। अधिवेशनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबीच प्रतिष्पर्धा हुने देखिएपछि पूर्वअध्यक्षहरूको पहलमा दुवैजनालाई गोलाप्रथाबाट उम्मेदवारी दिने वातावरण मिलाइएको थियो। निवर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यसअघिको अधिवेशनमा सहनलाल प्रधानसँग पराजित भएका थिए।