तनहुँ, पुस २० । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ। घरबाहिर खेलिरहेकाे अवस्थामा चितुवाकाे आक्रमणमा परि ८ वर्षीय पुजन सिंजाली मगरकाे मृत्यु भएकाे डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।
बालकको शव घरभन्दा दुई/तीन सय मिटर तल बारीमा फेला परेको हाे। घटनालगत्तै घटनास्थलमा प्रहरी, डिभिजन वन कार्यालयको टोली पुगेको थियाे। चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ। केही दिन अगाडी मात्रै शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा २२ महिनाका बालक रवीन नेपालीको मृत्यु भएको थियो। भानु नगरपालिकाका विभिन्न वडामा पनि चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको थियो। – रासस