चितवन, पुस २१ । चितवनका पुराना व्यवसायी ज्ञानेन्द्रमान शाक्यले उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा उम्मेदवारी दिने भएका छन्। केही दिनअघि गोलाप्रथाको माध्यमबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने विषयमा सहमति भएको थियो। सोही विषयलाई लिएर नेपाली कांग्रेस चितवनले विज्ञप्तीमार्फत गम्भीर आपत्ति जनाएको थियो।
सोही अनुसार सुनचाँदी व्यवसायी शाक्यले प्यानलसहित उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका जानकारी दिए। ‘लोकतान्त्रिक विधिअनुसार चल्नुपर्ने ठाउँमा गोलाप्रथामार्फत उम्मेदवारी दिने निर्णय हाम्रो लागि मान्य छैन,’ उनले भने, ‘त्यसैको विरूद्ध हामीले प्यानलसहित उम्मेदवारी दिने तयारी गरिरहेका छौँ।’
कार्यसमिति सदस्यहरू मिलाइसकेपछि उम्मेदवारी घोषणा गर्ने उनले बताए। उक्त प्यानलमा वरिष्ठ उपाध्यक्ष पदका लागि भने विष्णुप्रसाद कँडेलको चर्चा छ। उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वको लागि यही पुस २८ र २९ मा अधिवेशन हुँदैछ।