काठमाडौं, पुष २१ । अघिल्लो वर्षको तुलनामा नेपालमा धानको उत्पादकत्व बढे पनि उत्पादन घटेको छ। कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित तथ्याङ्कअनुसार यस वर्ष नेपालमा ५५ लाख ५० हजार ८७८ मेक्ट्रिक टन धान उत्पादन भएको हो, जुन गत वर्षको तुलनामा १ दशमलव ०५ प्रतिशत न्यून हो।
गत वर्ष मुलुकभर ५६ लाख १० हजार ११ मेक्ट्रिकटन धान फलेको थियो। यसपाली धान लगाउने क्षेत्रफल ३२ हजार ८ सय २९ हेक्टरले घट्दा धान उत्पादनमा पनि ५९ हजार १३३ मेक्ट्रिकटनले कमी आएको छ। अघिल्लो वर्ष १४ लाख ९१ हजार ७४४ हेक्टर जमिनमा धान खेति गरिएको थियो भने यस वर्ष १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा मात्रै धान खेती भएको कृषि विभागले जनाएको छ।
अघिल्लो वर्षको तुलनामा ३१ हजार हेक्टर जमिनमा यस वर्ष धान रोपाई नै हुन नसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए। समग्रमा धान खेतीको आकँडा घटे पनि उत्पादकत्वमा भने अघिल्लो वर्षको भन्दा बढोत्तरी देखिएको उनको भनाइ छ। अघिल्लो वर्ष प्रतिकिलो प्रतिहेक्टर ३७ सय ६० किलो रहेको धानको उत्पादकत्व यस वर्ष ४४ किलो प्रतिहेक्टरले बढेर ३८ सय ४ किलो पुगेको छ।
मन्त्रालय र कृषि विभाग अन्तर्गतका निकायले सातै प्रदेशमा गरेको स्थलगत अनुगमन पछिको प्रतिवेदन एवं मौसम तथ्याङ्क समेतका आधारमा धान उत्पादनको प्रारम्भिक अनुमान गरिएको कृषि विभागले जनाएको छ।
यस वर्षको उत्पादन गत आर्थिक वर्षको भन्दा कम देखिए पनि उत्पदकत्व भने अहिलेसम्मकै उच्च भएको कृषि तथा पशुपंछि विकास मन्त्रालयले जनाएको छ। विवरण अनुसार चैते धानको उत्पादकत्व बर्षे धानको तुलनामा उच्च देखिएको छ।