पुस २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमाथि गम्भीर प्रकृतिको प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। इराकी संसदले अमेरिकालाई आफ्नो सेना फिर्ता लैजान निर्देशन दिएपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
इराकमा हाम्रो औधी असाधारण र असाध्यै खर्च गरेर बनाइएको एअर–बेस छ। त्यसको निर्माणमा करोडौं डलर खर्चेका छौं। इराकीहरूले हामीलाई पैसा फिर्ता नदिएसम्म हामी इराक छाड्नेवाला छैनौं,ु ट्रम्पले पत्रकारहरूसँग भने।
गतसाता इराकको बग्दादमा अमेरिकाद्वारा इरानी जर्नेल कासिम सोलेमानी ुमारिएपछि तनाव नयाँ उचाइमा पुगेको छ। इरानले गम्भीर बदला लिने चेतावनी दिइसकेको छ। मध्यपूर्वमा इरानका तर्फबाट सैन्य गतिविधि गर्दै आएका इरानी रिभोल्युसनरी गार्डका ती जर्नेललाई अमेरिकाले भने आतंकवादीको बिल्ला भिराएको थियो। सोलामानीको शव आइतबार तेहरान पुर्याइसकिएको छ।
ट्रम्पले अरु के भने ?
अमेरिकी सेनालाई इराक छाड्न दिइएको निर्देशन मैत्रीपूर्ण नभएको ट्रम्पको ठम्याइ छ। ुहामी तिनीहरूले कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। यस्तो प्रतिबन्ध, जसका अघि इरानमाथि लगाइएको प्रतिबन्ध मामुली लाग्नेछ,ु उनले भने।
इराकमा अहिले पाँच हजारको संख्यामा अमेरिकी सेना तैनाथ छ। इस्लामिक स्टेटविरुद्ध संयुक्त कारबाही चलाउन अमेरिकाले सेना खटाएको हो। इराकले आइतबारबाटै अमेरिकासँगको संयुक्त अपरेसनबाट हात झिकिसकेको छ।