काठमाण्डौं, पुष २१ । विभागीय टिम एपीएफ क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ।
सुनसरीको इनरुवा रंगशालामा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो। एपीएफका लागि सुमित महर्जनले ८३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै शंकर रानाले ३६ रन जोड्दा प्रदिप ऐरीले १९ रन बनाए। कप्तान बसन्त रेग्मी र सन्दीप जोरा १२/१२ रनमा आउट भए।
एमएमसीसीका लागि सरोज बस्नेतले ४ विकेट लिए। यस्तै अल्फाज मन्सुरी, भुपाल लुइँटेल र सोनु मण्डलले २/२ विकेट लिए।
सेमिफाइनलमा स्थान बनाउन एपीएफका लागि यस खेल महत्वपूर्ण रहेको छ। एपीएफलाई यस खेल जित्नै पर्ने दबाब रहेको छ। पहिलो खेलमा एपीएफ आर्मीसँग १ सय ८ रनले पराजित भएको थियो।