विराटनगर, पुस २१ । विराटनगर महानगरपालिका र मेची नगरपालिकाले भगिनी सम्बन्ध स्थापनाका लागि प्रदेश एक सरकारसमक्ष पठाएको प्रस्ताव स्वीकृत भएको छ।
सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सम्पन्न बैठकपछि प्रदेश एकका आन्तरिक मामिलामन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले विराटनगर महानगरपालिकाले चीनको उहु शहरसँग र मेची नगरले बेलायतको एक शहरसँग भगिनी सम्बन्ध स्थापना गर्नका लागि प्रस्ताव पेश गरेको बताए।
त्यसैगरि, जिल्ला प्रहरी कार्यालय धनकुटाको भवन जीर्ण अवस्थामा रहेकोले हालका लागि प्रदेश सरकार मातहतमा रहेको एक सरकारी भवन प्रयोग गर्न दिने निर्णय गरेको छ। मन्त्री कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण नहुञ्जेलसम्मका लागि प्रहरीले प्रदेश सरकारको मातहतमा रहेको भवनमा प्रयोग गर्न सक्नेछ। तर नयाँ भवनका लागि बजेट विनियोजन भइसकेको छ।
त्यसैगरि, २ करोड ५० लाख रुपैयाँको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र ५० लाख रुपैयाँ बजेटको विशेष कार्यक्रम २०७६ संशोधन गर्न स्वीकृत प्रदान गरिएको छ।
बैठकले मंगलबारेमा सञ्चालनमा रहेको अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्दै प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ। त्यसैगरि स्वास्थ्य शिविर सञ्चालन कार्य्विधी क्षेत्रलाई स्वीकृत प्रदान गरेको छ।