काठमाडौं, पुस २१। विभागीय टिम एपीएफ क्लबले सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।
इनरुवामा सोमबार भएको खेलमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई ८३ रनले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो।
इनरुवा रंगशालामा एपीएफले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एमएमसीसी ३६ ओभर २ बलमा १ सय २१ रन जोड्दा अलआउट भयो।
एमएमसीसीका लागि रबी रोयले सर्वाधिक २६ रन जोड्दा रुपेश श्रीवास्तवले २३ रन बनाए। यस्तै विवेक मेहेताले १५ रन बनाए। एमएमसीसीलाई सस्तैमा समेट्न एपीएफका सुर्य तामाङले ४ विकेट लिए।
कप्तान बसन्त रेग्मीले ३ तथा यज्ञमान कुमालले २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो।
एपीएफका लागि सुमित महर्जनले ८३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै शंकर रानाले ३६ रन जोड्दा प्रदिप ऐरीले १९ रन बनाए। कप्तान बसन्त रेग्मी र सन्दीप जोरा १२र१२ रनमा आउट भए।
एमएमसीसीका लागि सरोज बस्नेतले ४ विकेट लिए। यस्तै अल्फाज मन्सुरी, भुपाल लुइँटेल र सोनु मण्डलले २/२ विकेट लिए।
जितसँगै एपीएफले २ खेलमा २ अंक जोडेको छ। एमएमसीसी अंक विहीन रहेको छ।
पहिलो खेलमा एपीएफ आर्मीसँग १ सय ८ रनले पराजित भएको थियो।