काठमाण्डौं, पुस २१ । सरकारले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो। कार्यालयले आज एक सूचना जारी गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी सडक निर्देशनालय टेकुबाट लेखी आए बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको व्यहोरा जनाइएको छ।
सूचनामा लेखिएको छ ‘मिति २०७६ पुस १८ गतेको निर्णय अनुसार सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम १३ बमोजिम २०७६ साउन २१ गतेदेखि लागू हुने गरी रमण–पप्पु जेभी जनकपुर–९, धनुषालाई सार्वजनिक खरिद ऐन,२०६३को दफा ६३ को उपदफा १ बमोजिम १ वर्ष अवधिको लागि कालोसूचीमा राखिएको छ।’
सूचनामा कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने समेत उल्लेख गरिएको छ।