चितवन, पुस २० । समाजसेवी उपेन्द्रप्रसाद रिजालको स्मृति ग्रन्थ साेमबार लाेकार्पण गरिएकाे छ। ‘उपेन्द्रप्रसाद रिजाल फाउन्डेसन’की अध्यक्ष सरस्वती रिजालद्वारा प्रकाशित उक्त ग्रन्थ पुराना साहित्यकार प्रेमविनाेद नन्दन, चितवन साहित्य परिषदका पूर्वअध्यक्ष केदारनाथ खनाल, वर्तमान अध्यक्ष सुरेन्द्र अस्तफललगायतकाे सयुक्त उपस्थितिमा चितवन साहित्य परिषदकाे सभाहलमा लाेकार्पण गरिएकाे हाे।
प्रकाशित ग्रन्थमाथि केदारनाथ खनाल, गायत्री श्रेष्ठ , गोविन्दराज विनोदीलगायतले टिप्पणी गरेका थिए। यसैगरी चितवन साहित्य परिषद्ले स्थापना गरेको विभिन्न पाँच पुरस्कारहरूको पुरस्कार राशी पनि साेमबारबाट बढाएको छ। यस अघि रू ११ हजार पैंतालिससहित वितरण गर्दै आएका साहित्यिक पुरस्कारहरूको राशी बढाएर १५ हजार पैंतालिस पुर्याइएकाे परिषद्ले जनाएको छ।
यसरी वृद्धि गरिएको पुरस्कारहरूमा चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, चिसाप लीला नर्मदा साहित्य पुरस्कार, चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार, चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार र चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार रहेका छन्। परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा साेमबार बसेको बैठकले उक्त निर्णय गरेको हाे। पुरस्कार आगामी कार्यक्रमदेखि नै कार्यान्वयनमा ल्याइने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिए।