तनहुँ, पुस २० । चितुवाको आक्रमणबाट ज्यान गुमाएका दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएकाे छ। चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिकाका वडा नं १ जामुने गैह्राका तीन वर्षीय आशिष बानियाँ र वडा नं २ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई कार्यालयले जनही नौ लाख ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको हो।
कार्यालयले घटनालगत्तै किरिया खर्चबापत ५०-५० हजार रुपैयाँ पीडित परिवारलाई प्रदान गरेको थियो। आशिषको गत असोज २१ गते र ऋतिकको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। नगर प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले साेमबार आशिषका बुबा विष्णुबहादुर बानियाँ र ऋतिकका आमा सिर्जना रोकालाई उक्त रकम प्रदान गरेका हुन्।
नगर प्रमुख गौलीले मानिसको जीवन पैसासँग तुलना गर्न नमिल्ने भए पनि राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताए। डेढ वर्षको अवधिमा भानु नगरपालिकामा मात्रै चितुवाकाे आक्रमणबाट छ बालबालिकाको मृत्यु भइसकेका छन्। त्यसैले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए। डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीतिबमोजिम पीडित परिवारलाई रकम प्रदान गरिएको बरालले बताए।
त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका आठ वर्षीय पुजन सिंजालीमगर र यही पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै ५० हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए। – रासस