गोरखा, पुस २२ । कुनै पनि राजनैतिक दलका प्रतिनिधिले चुनावका बेलामा मात्रै मतदाता कहाँ पुग्छ भन्ने आरोप छ। हुन पनि नेपालका कुनै पनि नेताहरू चुनावपछि गाउँ फर्किएका छैनन्। मतदाताले चुनावका बेला देखेका नेताको अनुहारसमेत बिर्सिसकेका छन्। तर, गण्डकी प्रदेश सभाका सदस्य प्रकाशचन्द्र दवाडी भने निर्वाचन सम्पन्न भएदेखि नै मतदाताको घरघरमा पुग्ने गरेका छन्।
गोरखाको क्षेत्र नं. २ (ख) बाट नेपाली कांग्रेसको तर्फबाट सांसद बनेका दवाडी आफ्नो निर्वाचन क्षेत्रका सबैजसो गाउँ चहारिरहेका छन्। ‘जहाँ समस्या पर्छ त्यहाँ पुग्ने गर्छु,’ उनले भने, ‘किनकि चुनाव त फेरि पनि आउँछ। त्यसैले जनताको मन एक पटकमात्रै जितेर हुँदैन।’ राजनीतिमै जीवन बिताउन चाहने व्यक्तिले सधैँ जनताको प्रिय पात्र बन्न सक्नुपर्ने उनको भनाइ छ।

‘गाउँमै जन्मेर हुर्केको भएर पनि होला आफ्नै गाउँ प्यारो लाग्छ,’ उनी भन्छन्, ‘त्यसैले मलाई गाउँ डुल्न कुनै समस्या छैन।’ गाउँमा पुग्दा मतदाता पनि खुसी हुने र केही सहयोग पनि गर्न पाइने हुँदा मनमा शान्ति मिल्ने गरेको उनको भनाइ छ।
यही क्रममा प्रदेश सांसद दवाडीले सिरान्चोक गाउँपालिका–५ मा रहेको चित्रेपोखरी माद्यमिक विद्यालयका १० जना विद्यार्थीहरूलाई छात्रवृत्ति दिने घोषणा गरेका छन्। उक्त विद्यालयका १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिएको उनले बताए।

उनकै पहलमा केही बर्षअघि गोरखा क्षेत्र नं. २ का सबै विद्यालयका कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको थिए। स्थगित भएको उक्त कार्यक्रमलाई नै पुनः निरन्तरता दिन लागेको उनले बताए। सांसद दवाडीको गाउँ यात्रा र सामाजिक कार्यप्रति विद्यालय व्यवस्थापन समितिले खुसी व्यक्त गरेको छ। समितिका अध्यक्ष प्रकाश गुरूङले दीगो राजनीतिको लागि जनतासँग सधैँ नजिक भएर काम गर्नुपर्ने बताए।