काठमाडौं, पुस २३ । सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती मर्यो। २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन। तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग भएको थियो।
‘फोक्सो बिग्रिएको थियो। पीप भरिएको थियो। यो क्षयरोगको लक्षण हो’, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भने, ‘कहिलेकाहीँ निमोनियामा पनि यस्तो देखिन्छ। यसको निक्र्योलका लागि ल्याब टेस्ट गर्न पठाएका छौँ।’ मरेको हात्तीको पोस्टमार्टम गर्ने चिकित्सकमध्ये एक हुन्, डा. श्रेष्ठ।
त्यही हात्तीको पोस्टमार्टममा खटिएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला पनि त्यो हात्ती मर्नुका कारण क्षयरोग नै भएको शंका गरे। ‘परीक्षण गरेर हेर्दा हामीलाई क्षयरोग नै हो भन्ने लागेको छ। प्रयोगशालाबाट यसको पुष्टि हुन जरुरी छ’, उलने भने।
पछिल्लो एक वर्षमा चितवन निकुञ्जमा पाँचवटा हात्ती मरेका छन्। २०७५ पुस २५ यता शमशेरकली, उमाकली, भोलाप्रसाद, मोतीप्रसाद र पूजाकली मरेका हुन्। तर, अहिलेसम्म यी हात्ती के कारणले मरे भनेर निकुञ्जले सार्वजनिक गरेको छैन। यस्तै विगत डेढ वर्षमा निकुञ्जमा ४९ वटा गैँडा मरेका छन्।
पछिल्लो आइतबार विद्युतीय धरापमा परेर मरेको आठ वर्षीय भाले गैँडाबाहेक अन्य सबै कालगतिले मरेका निकुञ्जले बताउँदै आएको छ। कालगतिमा पनि के कारणले मरे भन्ने जवाफ निकुञ्जसँग छैन। तर, सन् २०१५ मार्च १ मा निकुञ्जको पश्चिमी क्षेत्र अमलटारीमा मरेको १८ वर्षीय पोथी गैँडामा क्षयरोगको संक्रमण भेटिएको चिकित्सक डा. सडौलाले बताए। गोरखापत्र दैनिकबाट