काठमाडौं, पुस २३ । मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरीले नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रका कर्मचारीमाथि कुटपिट गरेका छन्। सशस्त्र प्रहरीकाे कुटपिटबाट प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का घाइते भएका छन्। घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने खड्काको मुखमा चोट लागेको छ।
घाइते दुवैको अहिले अर्थोपेडिक हस्पिटलमा राखेर उपचार भइरहेको प्राधिकरण जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका २ कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) प्रवीण राई र हवल्दार छवीन्द्र राईले कुटपिट गरेको जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार मर्मतको काम सकाएर प्राधिकरणकै गाडीबाट फर्किंदै गर्दा गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका २ प्रहरीले आक्रमण गरेका थिए। ‘मर्मतको काम सकेर फर्कंदै गर्दा कसरी गाडी चलाएको भन्दै निर्घात कुटपिट भयो’, पौडेलले भने। कुटपिटमा सलग्न भएका सशस्त्रका प्रवीण र छवीन्द्रलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। प्रवीण र छवीन्द्र सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत छन्।