काठमाडौं, पुस २३ । युक्रेनका एक यात्रु बोकेको विमान दुर्घटना हुँदा विमानमा सवार एक सय ७६ जनाको मृत्यु भएको छ। विमानमा सवार एक सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्यको ज्यान गएको विमानस्थलका वरिष्ठ जनसम्पर्क कार्यालयका अली खशानीलाई उद्धृत गर्दै प्रेस टिभीले भनेको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रायेटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सको बोइङ ७३७ हवाई जहाज इमाम खामेनेई विमानस्थलमा उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो। यसअघि विमानमा एक सय ८० जना सवार रहेको इरानी सञ्चारमाध्यमले बताएका थिए।
१ सय ८० यात्रु बोकेको हवाई जहाज तेहरानमा दुर्घटना
यसअघि ईरानको गैरसरकारी सहयोगी संस्था ‘रेड क्रिसेन्ट’का अनुसार यो दुर्घटनामा कोही पनि यात्रुको बाँच्ने सम्भावना एकदम न्यून रहेको जनाएको थियो। ईरानी समाचार एजेन्सी फोर्सका अनुसार प्राविधिक समस्याका कारण हवाई जहाज दुर्घटना भएको हो। यसअघिका रिपोर्टमा यो हवाई जहाज युक्रेनको राजधानी कीएफ गइरहेको बताइएको थियो।
दुर्घटना लगत्तै उद्धारकर्ताहरुलाई दुर्घटनास्थलमा पठाइएको थियो। ईरानको आपतकालीन सेवाका प्रमुख पीरहुसैन कुलीवन्दले समाचार एजेन्सी रोयटर्ससँग भनेका थिए, ‘हवाई जहाजमा आगलागी भएको छ, हामी सायदै केही यात्रुहरुलाई बचाउन सक्छौँ।’
यसअघि पनि बोइङ्ग कम्पनीको हवाई जहाज दुर्घटना हुँदा धेरैले ज्यान गुमाइसकेका छन्। फेरि दुर्घटनापछि बोइङ्ग कम्पनीको हवाई जहाजलाई लिएर प्रश्न उठेको छ। – एजेन्सी