काठमाडौँ, पुस २३ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर परेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ। सोही मौसमी प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ।
हाल देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बुधबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसमविद सजिना शाक्यले बताएकी छन् । पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पूर्वी क्षेत्रमा हल्का वर्षा हुने जनाइएको छ। यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको जनाइएको छ।
बुधबार राति पनि देशभरको मौसम बदली भई पश्चिमका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन्। राति पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।
बदलीका कारण काठमाडौँसहित देशभरका अधिकांश ठाउँको न्यूनतम तापक्रम बढेको छ। तर अधिकतम तापक्रम कम हुने भएकाले जाडो अत्याधिक हुने अनुमान छ। बिहान ७ डिग्री मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १२ देखि १४ डिग्रीसम्म मात्रै पुग्ने अनुमान छ।