सञ्जय चौधरी, चितवन, पुस, २३ । पूर्वी चितवनको खैरहनी नगरपालिका ५ गौचरन परिसरमा पुस २७ देखि माघ ८ गते सम्म सुरू हुने सातौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ चितवनले बुधवार (आज) पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको लागि आवश्यक पर्ने आन्तरिक तथा बाह्य तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। महोत्सव अन्तर्गत स्टल निर्माण र प्रचार प्रसारको काम धमाधम भइरहेको छ।
“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुँ जातिभाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूलनाराका साथ थारुको पहिचान र संस्कृति जोगाउन हरेक वर्ष हुने खिचरा महोत्सव यस पटक सातौं संस्करण हो। थारुहरुको विशेष पर्व माघीको अवसर पारेर खैरहनी नगरपालिका ५ गौचरनको परिसरमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।
मूलआयोक समितिका संयोजक चुडामणि चौधरीले सम्मेलनमा बोल्दै देशका सबै जातजाति, भाषा र संस्कृतिहरू संरक्षण गरिनुपर्ने र तिनले फल्ने फुल्ने अवसर पाउनुपर्नेमा जोड दिए। महोत्सवले आपसी एकता, सहयोग, भाइचारा, सद्भाव, सह-अस्तित्व र सहसम्मानको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
महोत्सवमा थारूका पहिचान झल्कने भेष भुषा सहित विभिन्न संस्कृतिक पहिचान एवम् परम्परागत सामाग्रीहरु प्रदर्शन गरिने चौधरीले जानकारी दिए। महोत्सवमा थारु समुदायको ब्रहमथान, परेवाको घर, परम्परागत सामाग्रीहरु सहितको थारु मिनीगाउँ परिसर, घोङी र पोकाको शिलामुर्ती प्रदशर्नी स्थलमा रहने छ।
घोङी र पोकाको बिशालमुर्ती सबैको आकर्षणको केन्द्र बन्नेछ। साथै महोत्सव परिसरमा प्रतियोगितात्मक कृर्षि उपज प्रदर्शनी, अन्तर विद्यालय स्तरीय चित्रकला तथा हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुष भेट्रान (प्रौढ) दौड, स्लो साईकल रेस, खिचरा फोटो/सेल्फी फोटो कन्टेस्ट, फेस पेन्ट रहनेछ।
महोत्सवमा उद्योग, व्यापार, कृर्षि तथा पर्यटन, स्थानीयकला संस्कृतिको प्रवर्धन, स्थानीय स्तरमा उत्पादित बस्तुको प्रवर्धन गर्न यस पटक १५० वटा व्यवसायिक स्टल रहने संयोजक चौधरीले बताए । स्टलमा थारु जातिका साथ साथै चेपाङ र दराई समुदायको खानाका परिकार रहनेछन्।
महोत्सवमा बालउद्यान लगायत मनोरञ्जनात्मक खेलहरु र राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानाकारी दिए। विभिन्न जातजातिका परम्परागत भेषभुषा सहित साँस्कृतिक कार्यक्रम, मिस नेपालद्वारा थारु भेषभुषा सहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारु फेसन शो, खुल्ला नृत्य प्रतियोगिता रहने उनले बताए।
महोत्सव आयोजना गर्न करिव रु ३६ लाख रूपैयाँ खर्च लाग्ने र रु ३८ लाख आम्दानी हुने आर्थिक समितिका संयोजक भिखुराम चौधरीले जानकारी दिए। महोत्सव अवलोकनको लागि १ लाख सम्म दर्शकहरु भित्राउने लक्ष्य रहेको उनले बताए।
महोत्सव अवलोकनका लागि रु ५० रूपैयाँ टिकट शुल्क लाग्ने छ भने विद्यार्थीहरुका लागि (परिचयपत्रका आधारमा) रु ३० कायम गरिएको जनाइएको छ। माघ ८ गते सम्म सञ्चालन हुने महोत्सवको पत्रकार सम्मेलनमा अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।