काठमाडौं, पुस २३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका थप २१ हजार ६०० गुनासो सम्बोधन गरेको छ। प्राधिकरण कार्यकारी समितिको बुधबार बसेकाे बैठकले २१ हजार ६०० गुनासोको नतिजा निकालेको हो। निर्णयअनुसार ८४१ पुनःनिर्माण लाभग्राही कायम भएको छ भने ८३६ भूकम्पपीडित प्रवलीकरण लाभग्राहीमा सूचीकृत भएका छन्।
१८ हजार २०० गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए। ‘स्थलगतरुपमा प्राप्त तथ्याङ्कलाई प्राधिकरणले तोकेको मापदण्डका आधारमा विश्लेषण गरी पुनःनिर्माण, प्रवलीकरण लाभग्राही वा गैरलाभग्राही कायम गर्ने गरिएको छ,’ उनले भने। यसअघि तीनपटक बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले एक लाख १३ हजार गुनासो सम्बोधन गरी नतिजा निकालेको थियो।
त्यसमा ११ हजार ५९९ गुनासोकर्ता पुनःनिर्माण लाभग्राही र पाँच हजार ६८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए। दोस्रो चरणको छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत एक लाख ८९ हजार गुनासो सङ्कलन गरिएको थियो। त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इञ्जिनीयरले विश्लेषण गरिरहेको प्राधिकरणले जनाएको छ।
विश्लेषण सकिएपछि ती गुनासो पनि प्राधिकरणले सम्बोधन गर्नेछ। गुनासो विश्लेषणका लागि ५० इञ्जिनीयर परिचालन गरिएको छ। दोस्रो चरणको छुट तथा पुनःजाँचअघि तीन लाख छ हजार ८५८ गुनासो दर्ता भएका थिए। ती सबैको पुनरावलोकन भइसकेको छ। प्राधिकरणले गरेको निर्णयमा चित्त नबुझे गुनासोकर्ताले पुनरावेदन समितिमा उजुरी गर्न सक्ने व्यवस्था छ। प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णयउपर चित्त नबुझेर पुनरावेदन समितिमा निवेदन दिएका एक हजार ५२० उजुरीको पुनरावेदनमा समितिले फैसला गरिसकेको छ। – रासस